दार्चुला: डिभिजन वन कार्यालय दार्चुलाको कार्यक्षेत्रभित्र पर्ने वन तथा वन्यजन्तुको संरक्षण, उद्दार र सुरक्षामा योगदान पु-याउने सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन संरक्षणकर्मी र सामुदायिक उपभोक्ता समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ।
जिल्ला सदरमुकाम खलंगामा आज विहान सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा उनीहरुलाई सम्मान गरिएको डिभिजन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत तथा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावत, जोलजिवी रेञ्जपोष्टका कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
बैठकमा जल, जंगल, जमिन, जडिबुटी र जनता पाँच (ज) तथा समन्वय समितिको भूमिका सम्बन्धमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले प्रकाश पार्नुभएको थियो। संघीयता पश्चात वन क्षेत्रको विकास, अतिक्रमण र चोरी सिकार नियन्त्रणमा देखिएको अन्योल हटाउन सबै तहका सरकारबीच साझा धारणा आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ मा डिभिजन वन कार्यालयले सम्पन्न गरेका कार्यक्रमहरूको समेत समिक्षा गरिएको थियो।
समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू कश्यपको अध्यक्षतामा सम्पन्न बैठकमा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले “हरियो वन नेपालको धन” भन्ने नारालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले वन क्षेत्रलाई उपयोगी बनाउँदै अतिक्रमण रोक्नुपर्ने धारणा राख्नुभयो।
समितिका अध्यक्ष कश्यपले वन संरक्षण, बृक्षारोपण र वन्यजन्तु संरक्षणमा लागेकाहरूलाई धन्यवाद दिँदै समितिको काम समय समयमा समिक्षा गरिनुपर्नेमा जोड दिनुभयो।
