दार्चुला — दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित नेपाल–चीन सीमानाका साउन ७, ८ र ९ गते खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोटका स्थानीय प्रशासनले छाङरु र टिङ्कर क्षेत्रका व्यापारीलाई नाका खुल्ने जानकारी गराएसँगै टिङ्करभन्ज्याङस्थित १ नम्बर सीमास्तम्भबाट आवतजावत खुला हुने तय भएको हो।
ब्याँस १ निवासी दानसिँह टिङ्करीका अनुसार चीनले २०२५ जुलाई २३–२५ (साउन ७–९) सम्मका लागि नाका खुल्ने जानकारी दिएको हो। जानकारी पाउने बित्तिकै व्यापारीहरू आवश्यक सरसामान चीन लैजाने तयारीमा जुटेका छन्। स्थानीयहरूले नेपाल–चीन सीमास्तम्भभन्दा ५–६ किलोमिटर तल डोङ्काट, टाटा क्षेत्रमा सामान जम्मा गर्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार यस वर्ष चीन–तिब्बत प्रवेशका लागि ब्याँस क्षेत्रका ५६ र अन्य स्थानीय तहका ४९ जनाले नयाँ पास बनाएका छन्। गत वर्षका पास नविकरण गर्नेमा ब्याँसका १४३ र अन्य क्षेत्रका ८ जना गरी १५१ जना रहेका छन्।
चीनले १ नम्बर सीमास्तम्भ नजिकैसम्म सडक विस्तार गर्नुका साथै सापु भन्ने स्थानमा सुरक्षाकर्मीका लागि भवन र चेकजाँच उपकरणयुक्त पोस्ट निर्माण गरिसकेको छ। नेपालतर्फ व्यास–१ टिङ्करको छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको इलाका कार्यालय स्थापना गरिएको छ। छियालेकबाट करिब ६–७ किलोमिटर टाढा पर्ने १ नम्बर सीमास्तम्भसम्म पुग्न पैदल यात्रामा करिब ५ घण्टा लाग्छ।
टिङ्कर क्षेत्रका स्थानीयले अध्यागमन कार्यालय स्थापना गरी व्यापारिक र आवतजावत प्रक्रिया थप व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
