दार्चुला — ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई लक्षित गर्दै दार्चुला जिल्लामा गरिएको एक वर्षको अभियानबाट १२ लाख ६८ हजार ५ सय रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १ सय ११ वटा सवारीसाधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक हेमबहादुर कठायतका अनुसार कारवाहीमा परेका सवारीमध्ये सबैभन्दा धेरै जीप र कार रहेका छन् । उनका अनुसार १ हजार ४३४ वटा जीप/कार ट्राफिक नियम उल्लङ्घनको कारण कारवाहीमा परेका थिए, जसबाट मात्रै ८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

यस्तै, १७० वटा ट्र्याक्टरबाट १ लाख १५ हजार, १९१ मोटरसाइकलबाट १ लाख १६ हजार २ सय, ८३ ट्रकबाट ६७ हजार, १२ वटा बसबाट ६ हजार ५ सय र अन्य १९३ सवारीसाधनबाट १ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

महिनैपिच्छे सवारीसाधन कारवाहीका दरहरूमा पनि विभिन्न उतारचढाव देखिएको छ । साउन महिनामा ११२ वटा सवारी कारवाहीमा पर्दा ६१ हजार रुपैयाँ संकलन भएको थियो भने असार महिनासम्म आइपुग्दा १५८ वटा सवारी कारवाहीबाट १ लाख २९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो । वैशाखमा सबैभन्दा धेरै ३ सय वटा सवारीसाधन कारवाहीमा परेका थिए, जसबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको हो ।

कारवाहीमा परेका अधिकांश सवारीसाधनहरू तोकिएकोभन्दा बढी यात्रु राख्ने, छतमा मान्छे बोक्ने, बिना लाइसेन्स गाडी चलाउने, प्रयोजन विपरीत सवारी प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सवारी दुर्घटनापछि सम्पर्कमा नआउनेजस्ता कारणले नियम उल्लङ्घन गरेको पाइएको प्रहरीले जनाएको छ ।

हाल दार्चुला जिल्लामा खलङ्गा, गोकुलेश्वर, चैतलिचौर, लटिनाथ र होपरिगाड गरी पाँच स्थानमा ट्राफिक प्रहरी पोष्टहरू सञ्चालनमा छन् । यी पोष्टहरूबाटै कारवाही कार्यहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।

यसैबीच, ट्राफिक कारवाहीसँग सम्बन्धित जरिवाना र राजस्व संकलन प्रक्रिया झनै पारदर्शी र सहज बनाउन ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम’ पनि लागू गरेको छ । गत जेष्ठ १५ गतेदेखि सञ्चालनमा आएको यो प्रणालीमार्फत कारवाही रकम सिधै अनलाइनबाट बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसले जिल्लाभरबाट उठ्ने राजस्व व्यवस्थित तरिकाले संकलन गर्न मद्दत पुगेको ट्राफिक प्रमुख कठायतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय