दार्चुला – दार्चुलाको विभिन्न स्थानमा सामुदायिक वन अतिक्रमण गर्दै निजी घर, टहरा तथा सरकारी संरचनासमेत निर्माण गरिएको तथ्य सार्वजनिक भएको छ। डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार हालसम्म १ दशमलव ८५ हेक्टर वन क्षेत्र अतिक्रमण भई १२ वटा संरचना निर्माण भइसकेका छन्।

डिभिजन वन कार्यालयका प्रमुख लक्ष्मीराज जोशीका अनुसार मालिकार्जुन गाउँपालिका–२ स्थित सलानीधार सामुदायिक वन, वडा नम्बर १ को शिसली, वडा नम्बर ३ को बसेडी र वडा नम्बर ४ को हुन्शिखर लगायतका सामुदायिक वनमा यस्ता अतिक्रमण देखिएको छ। कतै निजी घर छन् भने कतै स्वास्थ्यचौकी जस्ता सरकारी भवन निर्माण गरिएको पाइएको हो।

“सडक सञ्जाल विस्तारसँगै वन क्षेत्र अतिक्रमण गरेर पसल तथा टहरा निर्माण गर्ने होड चलेको देखिन्छ,” प्रमुख जोशीले बताए। उनले विगत दशकदेखि वन अतिक्रमण हुने क्रम चल्दै आएको र कतिपयले गैरकानुनी रूपमा वन पैदावारको चोरीसमेत गर्ने गरेको जानकारी दिए।

उनका अनुसार मालिकार्जुन–३ स्थित सामुदायिक वन क्षेत्रमा मात्रै पाँचवटा घर र एउटा स्वास्थ्यचौकी निर्माण भएको छ। यस्तै, वडा–४ मा रहेको विद्यालय नजिकैको वन क्षेत्रमा एक घर बनाइएको छ। अतिक्रमण गरेर निर्माण गरिएका संरचनामध्ये अहिले पनि १२ वटा घरधुरीमा मानिस बसोबास गरिरहेका छन्।

नेपाल सरकारले सन् २०६८ मा ल्याएको “वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति” अनुसार यस्ता गतिविधि गैरकानुनी मानिन्छ। तर सरकारी सहायता लक्षित मुक्त कमैया, सुकुम्बासी वा बाढीपीडित नभई व्यापारिक प्रयोजनका लागि वन जमिन अतिक्रमण गरिएको देखिन्छ।

प्रमुख जोशीले वन स्रोतको दिगो व्यवस्थापनका लागि समुदाय, स्थानीय तह र सरोकारवालाको जिम्मेवारी आवश्यक रहेको बताए। उनले वनको संरक्षणले वातावरणीय सन्तुलन, भू–क्षयको रोकथाम, सिमसार पुनःस्थापना तथा वन्यजन्तुको बासस्थान सुरक्षामा योगदान पुर्‍याउने धारणा राखे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय