दार्चुला — दार्चुला जिल्लाको लेकम गाउँपालिका–१, सर्मोलीमा अवस्थित श्री बडिपुर माध्यमिक विद्यालय हाल गम्भीर पहिरोको जोखिममा परेको छ। अविरल वर्षासँगै विद्यालय अगाडिको जमिन क्रमशः भासिन थालेपछि दुईवटा भवन पूर्णरूपमा जोखिममा परेका छन्।

विद्यालयका शिक्षक महादेव साउँदका अनुसार विगतमा निर्माण गरिएको खेताली–बडिपुर सडक विद्यालय क्षेत्रको सिधा छेउमै पर्छ। सो सडक बनाउँदा कुनैपनि सुरक्षात्मक संरचना निर्माण नगरिएको हुँदा अहिलेको वर्षासँगै जमिन चिराचिरा भई झनै कमजोर बन्दै गएको हो। “सडक त पहिले नै बनेको हो, तर अहिलेको झरीले गर्दा जमिन झन् चर्किएको छ। मुख्य भवनअगाडिको करिब ७०–७५ प्रतिशत भू-भाग पहिरोको उच्च जोखिममा परेको छ,” साउँदले जानकारी दिनुभयो।

सुरक्षा संरचना नहुँदा विद्यालय परिसरमा गाई, गोरु, बाख्रा पसेर चरिचरन गर्ने, विद्यार्थीले रोपेका बिरुवा नष्ट हुने, पानीका ट्यांकी र धारा फुटाइने जस्ता घटना बढिरहेका छन्। यस्ता गतिविधिका कारण सिकाइ वातावरण कमजोर हुँदै गएको शिक्षक तथा स्थानीय शिक्षाप्रेमीहरूको गुनासो छ।

यता, विद्यालय वरपर रक्सी बिक्री वितरण हुने, मद्यपान गर्ने र राजनीतिक दल तथा विभिन्न संगठनहरूको बैठक बस्ने गरेको पाइन्छ। यद्यपि ती बैठकहरू नियमित भने होइनन्, तर हुनेबित्तिकै त्यसले कक्षा सञ्चालनमा प्रत्यक्ष असर पार्ने गरेको छ। “शिक्षा क्षेत्रमै यस्तो खुला गतिविधि हुँदा बालबालिकाको सिकाइमा प्रत्यक्ष असर पर्छ,” एक स्थानीय शिक्षाप्रेमीले बताए।

नेपाल सरकारअन्तर्गतको लागू औषध नियन्त्रण ऐन, २०३३, बाल नीति २०७२, र स्थानीय तहका सामाजिक मर्यादा निर्देशिकाहरूले विद्यालय वरपर कम्तीमा १०० मिटरको दूरीभित्र रक्सी बिक्री वितरण र मद्यपान पूर्ण रूपमा निषेधित गरेका छन्। तर लेकम गाउँपालिका आफैंले “पूर्ण रक्सी निषेधित क्षेत्र” घोषणा गरिसकेको भए पनि विद्यालय छेउमा लुकीछिपी रक्सी बिक्री वितरण भइरहेको पाइएको छ।

“न त विद्यालय क्षेत्र सुरक्षित छ, न वरपरको वातावरण बालमैत्री छ,” शिक्षक साउँदले भन्नुभयो, “विद्यालयको अवस्था यस्तो संकटपूर्ण हुँदासमेत सम्बन्धित निकायहरूको ध्यान नगएकाे अत्यन्त दुःखद हो।”

हाल पहिरो नियन्त्रणका लागि वडा कार्यालयमार्फत गाउँपालिकामा ध्यानाकर्षण गराइएको छ। तर अहिलेसम्म कुनै ठोस पहल नभएको विद्यालय पक्षको गुनासो छ। स्थानीय तह, अभिभावक, समाजसेवी तथा सरोकारवाला निकायहरू समयमै सचेत नबनिए शिक्षा र भविष्य दुवै जोखिममा पर्ने देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय