दार्चुला — जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिमका ९ वटै जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने इकाइका रूपमा घोषित भएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनमा दार्चुला अग्रस्थानमा रहँदै ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’को उपाधि हात पार्न सफल भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजना गरिएको समीक्षा कार्यक्रममा भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी भई मातहतका सम्पूर्ण प्रहरी इकाइहरूले श्रावणदेखि असार मसान्तसम्मको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए। त्यसक्रममा तथ्याङ्कहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा बढी लक्ष्य हासिल गर्दै उच्चतम अंक प्राप्त गरेको पुष्टि भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर बिकले दार्चुला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाललाई प्रशंसा–पत्र प्रदान गर्दै सफल नेतृत्वको प्रशंसा गरे। उनले दाहाल नेतृत्वको प्रहरी टोलीले देखाएको प्रतिबद्धता, अनुशासन, जनमैत्री सेवा र कार्यक्षमताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्टता कायम रहोस् भन्ने शुभकामना व्यक्त गरे।

