दार्चुला: दार्चुला जिल्लाको  नौगाड गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासिक सार्वजनिक सुनुवाइ तथा वार्षिक समिक्षा कार्यक्रममा उठेका गम्भीर विषयहरूलाई लिएर नेकपा माओवादी केन्द्रका नौगाड अध्यक्ष धनिराम सिंह ठगुन्नाको संयोजकत्वमा गाउँपालिका अध्यक्ष दलजित सिंह धामी र उपाध्यक्ष जगत सिंह ठगुन्नासहित सम्पूर्ण कार्यपालिकालाई ज्ञापनपत्र पेश गरिएको छ।

ज्ञापनपत्रमा रोजगार संयोजक रविन्द्र शाहमाथि महिलाको चरित्र हत्या गर्ने, अनैतिक व्यवहार गर्ने र साइबर क्राइम मुद्दामा धरौटीमा छुटेका व्यक्ति रहेको आरोप लगाइएको छ। साथै, उक्त व्यक्तिलाई समर्थन गर्ने गरी प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने अन्य कर्मचारीहरूलाई सार्वजनिक रुपमा माफि माग्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा राखिएका  ९ बुँदे माग

१. चरित्र हत्या र साइबर क्राइम मुद्दा खेपिरहेका रोजगार संयोजक रविन्द्र शाहलाई सेवाबाट हटाइनु।

२. उनलाई समर्थन गर्ने कर्मचारीहरूले सार्वजनिक रुपमा माफि माग्नु।

३. करार कर्मचारीहरूलाई अन्य पालिकाजस्तै पुनः नियुक्त गरिनु।

४. खारमा रहेको स्वास्थ्य चौकी यथावत राखिनु।

५. माथिका मागहरू पुरा नभए प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरिनु।

६. सार्वजनिक खरिद नियमावली बमोजिम खरिद कार्य प्रभावकारी ढंगले गरिनु।

७. सूचना, संचार तथा छपाइ शीर्षकमा भएको भुक्तानी सार्वजनिक गरिनु।

८. कार्यालय व्यवस्थापनमा मितव्ययिता अपनाइनु।

९. प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन गरिनु।

ज्ञापनपत्रमा भनिएको छ, “यदि साउन २० गतेसम्म माग सुनुवाइ नभएमा साउन २१ गतेदेखि चरणबद्ध आन्दोलन तथा संघर्षका कार्यक्रम सुरु गरिनेछ।”

उक्त ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सूचना तथा सर्तकता केन्द्र, सामान्य प्रशासन मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा समेत पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय