दार्चुला — बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ वर्षीय सन्दीप जोशी सोमबार राति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार उनी दार्चुलाको भू तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग सदरमुकाम खलंगामा बस्दै आएका थिए ।
महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत सन्दीपको शव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनापछि जोशी परिवार शोकमा डुबेको छ । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
