दार्चुला । आज वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औँसी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने परम्परा छ ।
धार्मिक मान्यताअनुसार आज उखेलिएको कुश मात्र वर्षभर प्रयोग गर्न मिल्छ भने अरू दिनको कुश त्यही दिन सीमित हुन्छ । यस दिन छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन अर्पण गरी सम्मान गर्ने गर्छन् । बाबु दिवङ्गत भएकाहरूले भने तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा रहेको छ ।
यस अवसरमा राजधानीको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । त्यसैले यो औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । त्यस्तै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि ठूलो संख्यामा श्रद्धालु भेला भई बाबुलाई सम्झेर तर्पण तथा सिदादान गर्ने गर्छन् ।
