दार्चुला, चैत १६ गते । दैनिक दुई सय भन्दा बढी बिरामीलाई सेवा दिदै आएको जिल्ला अस्पताल दार्चुलामा भवन नहुँदा सेवा प्रवाह तथा उपचारमा समस्या भएको छ । बिरामीलाई सहजरुपमा सेवा दिन सुविधा सम्पन्न अस्पतालको भवन निर्माण भइरहेको भएपनि निर्माणको कामले खासै गति नलिदा विगत १२ वर्षदेखी यहाँको अस्पतालले भवनको अभाव झेलिरहेको छ । ०७० साल असारमा महाकाली नदीमा आएको बाढीले अस्पतालको जग्गा बगाएर भवनहरुमा समेत क्षति पु¥याएपछि त्यसबेला देखी अस्पतालमा भवनको अभाव हुँदै आएको छ ।
जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट रबिन्द्र भट्टराईका अनुसार भवन नहुँदा अन्तरंग (ईन्डोर) सेवा संचालनमा समस्या सिर्जना भएको छ । दैनिक रुपमा आउने बिरामीहरुका लागि बेडहरुको समेत कमी रहेको उहाँले बताउनुभयो । भवन अभावमा फिजियो थेरापी, ओपिडि सेवा संचालन, ल्याब संचालनमा निकै समस्या रहेको उहाँको भनाई छ । “उहाँले भन्नुभयो, हामीसँग दक्ष जनशक्ती छ, भवन छैन्, उपलब्ध जनशक्तीलाई परिचालन गरी गुणस्तरीय सेवा प्रदान गर्न सकिएको छैन् ।” अस्पतालमा भवन नहुँदा समस्या भएको विषयलाई बेला–बेला जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको पनि उहाँले बताउनुभयो । भवन अभावमा साँघुरो कोठाहरुमा संचालन गरिएको अन्तरंग सेवाले बिरामीहरुमा संक्रमणजन्य रोगहरु छिटोछिटो फैलिन सक्ने अर्को जोखिम बढाएको उहाँले दुखेसो पोख्नुभयो ।
भवन निर्माणले गति लिन सकेन
जिल्ला सदरमुकाम खलङ्गा स्थित गल्फैमा रहेको जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन भवनको निर्माण कार्यले खासै गति लिन नसकेपछि बिरामीलाई उपचार गर्न समस्या भएको छ । अस्पतालका सबैजसो सेवालाई सहज रुपमा संचालन गर्न पचास शैय्याको नयाँ भवन निर्माणको काम भइरहेको भएपनि निर्माणको गति सुस्त भएपछि जिल्ला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति राजेशसिंह सामन्त नेतृत्वको टोलीले शनिबार निर्माणधीन अस्पताल भवनको अनुगमन गरी भवन निर्माणको काम तोकिएको समयावधी भित्रै सम्पन्न गर्न निर्माण व्यवसायी आग्रह गर्नुभएको छ । अनुगमन पस्चात सभापती सामन्तले भन्नुभयो, “हाम्रो आग्रहलाई सकारात्मक खबरदारीको रूपमा बुझियोस, अब पनि कामको गति बढेर निर्धारित समयमा निर्माण कार्य सक्ने नगरे काम गर्ने र गराउने दुबै पक्षलाई कारबाहीको माग गर्ने परिस्थिति नबनोस ।”
अस्पतालको भवन निर्माणका लागि निर्माण उक्त कम्पनीसँग ०७८÷३÷२४ गते सम्झौता भएको सुन्दर गोर्खा वाईआर जेभीका संचालक निरन्जन भट्टले जानकारी दिनुभयो । सम्झौता भएको दुई वर्षपछि निर्माण कम्पनीको म्याद थप गरी भवन निर्माण कार्य भइरहेको छ । म्याद थपेर निर्माण कार्य भइरहेको भवन निर्माणको काम ०८२ मंसिर महिनामा सक्ने भनिएपनि अझै सम्म निर्माण कार्य सम्पन्न भएको छैन् । चारतले भवन निर्माणका लागि संघीय सरकारले २४ करोड रुपियाँ विनियोजना गरेको थियो । गत मंसिरमा पुनः एक वर्षको म्याद थपगरी अहिले भवन निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि एवम् ईन्जिनियर गोकर्णप्रसाद जोशीका अनुसार भवन निर्माणको काम करिव ५५ प्रतिशत सम्पन्न भइसकेको छ । जिल्ला अस्पताल दार्चुलाले वार्षिक तिस हजार बिरामीलाई विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय