दार्चुला, असार १५ – दार्चुलाको विकट व्यास गाउँपालिका–२ दुम्लिङस्थित काठा दुम्लिङमा श्रमदानमार्फत ७२ मिटर लामो झोलुङ्गे पुल अढाई महिनामै निर्माण सम्पन्न भएको छ। पुल उद्घाटनको तयारी पूरा भइसकेको छ भने असार १६ गते प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिनिधि सभा सदस्य राईले गत चैत २४ गते पुलको शिलान्यास गर्नुभएको थियो। त्यसयता निरन्तर श्रमदानमार्फत निर्माण कार्य अघि बढाइएको थियो। पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईका अनुसार देशका विभिन्न जिल्लाबाट आएका चार सयभन्दा बढी श्रमदाताको सक्रिय सहभागितामा अढाई महिनामै पुल निर्माण सम्पन्न भएको हो।

“श्रमदाताको पूर्ण साथ, सहयोग र समर्पणका कारण छोटो समयमै पुल निर्माण सम्पन्न गर्न सफल भएका छौँ। सबै श्रमदाताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,” उहाँले भन्नुभयो।

पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई वर्षौंदेखिको सास्ती अन्त्य भएको छ। स्थानीय सविता बुढाथोकीका अनुसार वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब हटेको छ। विद्यालय जाने विद्यार्थी र दैनिक आवतजावत गर्ने स्थानीयका लागि पुलले ठूलो राहत पुगेको उहाँको भनाइ छ।

यसअघि सोही स्थानमा दुई पटक सरकारी निकायबाट पुल निर्माणका लागि सर्वेक्षण गरिए पनि निर्माण कार्य अघि बढ्न नसकेको स्थानीयको गुनासो थियो। पुल नहुँदा वर्षात्का चार महिना स्थानीयले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था रहेको थियो।

स्थानीय वीरेन्द्र बुढाथोकीले श्रमदानको अभियानबाट यति छोटो समयमै पुल निर्माण हुनु प्रेरणादायी भएको बताउँदै सरकारी प्रक्रियाबाट यस्ता आयोजना सम्पन्न हुन वर्षौँ लाग्ने गरेको टिप्पणी गर्नुभयो।

त्यस्तै, स्थानीय द्रोपती जोहारीले पुल बनेपछि खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको आवश्यकता र मागका आधारमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो। वर्षायाममा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने, साथै यार्चागुम्बा संकलनका लागि आवतजावत गर्ने स्थानीयलाई सहज बनाउन पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।

यसैबीच, स्थानीयले विगतदेखि प्रयोग गर्दै आएको तुइन हटाई नेपाल–भारत सीमा जोड्ने महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण गरिदिन सरकार तथा प्रतिनिधि सभा सदस्य राईसँग पुनः आग्रह गरेका छन्। तर अन्तर्राष्ट्रिय सीमामा संरचना निर्माणका लागि नेपाल र भारतबीच सहमति आवश्यक पर्ने भएकाले तत्काल यस्तो पुल निर्माण सम्भव नरहेको प्रतिनिधि सभा सदस्य राईले बताउनुभएको छ।

राज्यको पहुँच कम पुगेको दुम्लिङमा श्रमदानको उदाहरणीय अभियानमार्फत झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय