दार्चुला, असार २५। दार्चुला जिल्लाका विभिन्न उच्च हिमाली पाटन क्षेत्रमा यस वर्ष दुई हजार १६६ जनाले यार्चागुम्बा सङ्कलन गरेका छन्। हिउँदमा बाक्लो हिमपात भएको पाटन क्षेत्रमा हिउँ पग्लिन थालेपछि वैशाख दोस्रो सातादेखि स्थानीयवासी यार्चागुम्बा टिप्न लेकतर्फ उक्लिएका थिए ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाका सूचना अधिकारी अरुण चौधरीका अनुसार यस वर्ष करिब आठ क्विन्टल यार्चागुम्बा सङ्कलन गर्ने लक्ष्य राखिएको छ। हालसम्म ४१ दशमलव ७५५ किलोग्राम यार्चागुम्बा निकासी भइसकेको छ।

यार्चागुम्बा निकासीबाट हालसम्म १२ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। सङ्कलन कार्य अझै केही समय जारी रहने भएकाले निकासी परिमाण र राजस्व रकम थप बढ्ने अपेक्षा गरिएको छ।
यार्चागुम्बा दार्चुलाको उच्च हिमाली क्षेत्रका स्थानीयवासीको प्रमुख मौसमी आम्दानीको स्रोतका रूपमा रहेको छ। प्रत्येक वर्ष यार्चागुम्बा सङ्कलनको मौसम सुरु भएसँगै हजारौँ स्थानीयवासी जीविकोपार्जनको आशामा हिमाली पाटनतर्फ जाने गरेका छन्।
