दार्चुला । नेपाली अतिक्रमित भुमि चुच्चे नक्साले ओगटेको भूगोल नावी,गुन्जी,कुटीमा बसोबास गर्ने भारतीय ब्याँसी सौका समुदाय लाई चिनले लिपुलेक नाका हुदै व्यापारका लागी चीन(तिब्बत) प्रवेशको लागी अनुमति दिएको छ । कोभिड १९ देखि बन्द रहेको भारत चीन व्यापार ६ वर्षको लामो प्रतीक्षापछि पुनः सञ्चालन हुने भएको छ। चीनको पुराङ काउन्टी प्रशासनले भारतको पिथौरागढ जिल्ला धारचुला प्रशासनलाई पत्र पठाउँदै १ अगस्टदेखि भारतीय व्यापारीहरूलाई लिपुलेक नाकामार्फत ताक्लाकोट प्रवेश गर्न अनुमति दिएको भारतीय संचार माद्यमले जनाएको छ ।
कोभिड–१९ महामारीका बेला भारत–चीनबीचको सीमा व्यापार बन्द गरिएको थियो। व्यापार पुनः सञ्चालन गराउन भारत–चीन व्यापार समितिले लामो समयदेखि पहल गर्दै आएको थियो। चीनको सहमति प्राप्त भएपछि १ जुनदेखि धारचुलामा व्यापार कार्यालय सञ्चालनमा ल्याइएको थियो।
धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) तथा व्यापार अधिकारी आशीष जोशीका अनुसार हालसम्म १५४ वटा ट्रेड पास जारी गरिएका छन्। तीमध्ये ६२ वटा व्यापारीका र ९२ वटा सहयोगीका पास रहेका छन्। साथै, गुञ्जीमा भन्सार कार्यालय सञ्चालन, गुप्तचर (आईबी) कर्मचारीको तैनाथी लगायत आवश्यक प्रशासनिक तयारी पूरा गरिएको छ।
भारतीय व्यापारीहरूको सामान गब्र्याङ, गुञ्जी, कुटी लगायतका स्थानहरूमा राखिएको छ। यसअघि उनीहरूलाई ८–९ जुलाईमा लिपुलेक नाकाबाट ताक्लाकोट पठाउने योजना बनाइएको थियो। तर त्यसबीच पुराङ काउन्टी प्रशासनले इमेलमार्फत भारतीय व्यापारिक मण्डीको निर्माण कार्य अझै पूरा नभएको जानकारी गराउँदै केही थप विवरण पनि मागेको थियो।
यस कारण ताक्लाकोट जान गुञ्जी पुगेका धेरै व्यापारीहरू पुनः धारचुला फर्किन बाध्य भएका थिए। उनीहरूले गुड, मिश्री (चिनीबाट बनेको परिकार), सौन्दर्य सामग्री तथा भाँडाकुँडा लगायतका सामान ताक्लाकोट पठाइसकेका छन्। उता नेपाली व्यापारीहरू भने यसअघि नै त्यहाँ पुगिसकेका छन्।
भारत–चीन व्यापार समितिका अध्यक्ष जीवनसिंह रोक्लीका अनुसार व्यापार ढिलो सुरु हुँदा भारतीय व्यापारीहरूलाई ठूलो आर्थिक असर परेको छ। उनका अनुसार सीमावर्ती क्षेत्रका व्यापारीहरूको करिब एक करोड भारतीय रुपैयाँ बराबरको सामान विगत छ वर्षदेखि ताक्लाकोट बजारमा थन्किएको छ। अब व्यापारीहरूको उपस्थितिमा चीन प्रशासनले उक्त सामान फिर्ता हस्तान्तरण गर्नेछ। त्यसपछि भारतीय व्यापारीहरू नयाँ व्यापारिक मण्डीमा प्रवेश गर्नेछन्।


एसडीएम आशीष जोशीका अनुसार चीन प्रशासनले मागेका सबै विवरण उपलब्ध गराइसकिएको छ। त्यसपछि चीन प्रशासनले १ अगस्टमा भारतीय व्यापारीहरूलाई लिपुलेक नाकामार्फत ताक्लाकोट पठाउन अनुमति दिएको जानकारी आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय