दार्चुला । जिल्लामा पहिलो पटक बृहत साहित्य महोत्सवको आयोजना गरिएको छ । तारा किशन फाउण्डेशन एन कर्पोरेशन न्यूयोर्क अमेरीकाको आयोजनामा शुक्रबारदेखि जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो । तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षता तथा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यततामा संचालन गरिएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुको सहभागिता रहेको छ । एक कार्यक्रमका बीच सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्माराज जोशीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ । महोत्सवमा दार्चुला जिल्लाका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको छ । यसैबीच महोत्सवमा दुई वटा कृतिको विमोचन गरिएको छ । छुटेका यादहरु नरेन्द्र सिंह बडाल र लोकेन्द्र बहादुर बमको संयुक्त मुक्तक संगह र किशन धामीको नेपाली अनुबाद एटलान्टिकका भंगलाहरु कृृतिको विमोचन गरिएको हो । साहित्यिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय साहित्यकार, कबिहरुको प्रस्तुती रहेको थियो । भोली माध्यमिक तह (९–१२) कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ । भोली नै कार्यक्रम समापन गरिनेछ ।
