ऐजेन्सी ।  अपराजिता पारिजातका सम्पादक तथा केही अखबार, अनलाइनमा नियमित लेख्ने सुमिना प्रगतिशील साहित्यकारको रूपमा परिचित छिन्। थुप्रै फुटकर लेख, रचना प्रकाशन गर्दै आएकी सुमिनाको यो पहिलो कवितासङ्ग्रह बागी स्त्रीको आत्मकथा केही समय अगाडि बजारमा आएको थियो।

इन्डिगो इनले प्रकाशन गरेको बागी स्त्रीको आत्मकथाबारे लेखक कवि राजनीतिक विश्लेषक आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही नै उनको कविताको शक्ति भएको बताए।

उनले भनेका थिए, ‘सुमिनाका कविता वैचारिक त छँदै छन्, ती मुख्यतया मार्क्सवादको वैचारिकीमा उभिएका छन्। समाजवादी यथार्थवादलाई पकड्नु उहाँका कविताको मूल विशेषता हो।’

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनासँग देश सञ्चारले गरेको पाँच प्रश्न:

कविता लिएर आउनुपर्छ भन्ने कहिले लाग्यो र लेख्न कहिलेबाट सुरु गर्नुभएको थियो ?

मैले आफ्नो लेखनको पहिलो पाइला कविताबाटै चाल्न सुरु गरेकी हुँ। जतिबेला कविताको सही मर्मसँग म आफैं पनि एकाकार भएकी थिइन। केही अग्रज साहित्यकारका कविताहरू विभिन्न म्यागजिनमा पढेपछि जानी नजानी कविता लेख्ने हुटहुटी पलाएको हो। कविता लेखनको एक दशक अन्तरालपछिआफैंले लेखेका कवितामाथि न्याय गर्नुपर्छ र तिनलाई एकमुष्ठ पाठकसामु पुर्‍याउनुपर्छ भन्ने ठहरका साथ ‘बागी स्त्रीको आत्मकथा’ जन्मिएको हो।

अपराजिता पारिजातको सम्पादक तथा केही अखबार, अनलाइनमा नियमित लेख्ने पनि गर्नुहुन्छ। कविज्यू एउटा पाठक भएर ‘बागी स्त्रीको आत्मकथा’लाई चाहिं कसरी हेर्नुहुन्छ?

मेरो सन्दर्भमा अखबारी लेखन रहर नभएर बाध्यता र आवश्यकताले निम्त्याएको परिणति हो भने कविता सुरुवाती चरणमा रहरले जन्माएको मीठो सृजना हो। यद्यपि पछिल्लो समय यो रहर मात्रै नभएर समाजसँगको अन्तरक्रिया पनि हो। जुनकाव्यको माध्यमबाट मैले समाजका विभिन्न आयामपात्र, प्रवृत्ति, सन्दर्भ र घटनामाथि शाब्दिक प्रतिक्रिया गर्छु। एक पाठकको आँखाले हेर्दा बागी स्त्रीको आत्मकथा आजसम्म आइपुग्दा पनि रूढ र परम्परागत ढाँचाबाट माथि उठ्न नसकेको समाजलाई अक्षरहरूमा विद्रोह घोलेर खुलेयाम चुनौती दिँदै समाजका कथित मर्यादा र मूल्य मान्यताहरूलाई लल्कार गरिरहेका प्रतिरोधी कविताहरूको संग्रह हो। जुन आजको नयाँ पुस्ताले पनि चासोपूर्वक पढ्न सकोस् भन्न चाहन्छु!

उत्पीडित समुदायको आवाजलाई मुखरित गर्न महिला विद्रोह कत्तिको आवश्यक छ? अथवा एक महिलाका कविताहरूले विद्रोह किन रोजे?

वर्ग संघर्षको इतिहासमै सबैभन्दा लामो र निर्मम यातना भोगेको वर्ग हो- महिला। निरन्तरको संरचनात्मक उत्पीडनमा थिचिँदा र मिचिँदा थिलोथिलो परेर ऊ आज पनि संरचनाको पिँधमा पिल्सन बाध्य छ। उत्पीडनबाट मुक्त पार्ने सिलसिलामा कुनै उत्पीडित समुदायको लडाइँ अरू कोहीले लडिदिएर पूरा होला भन्नु भ्रममात्रै हो। त्यो सान्दर्भिक तब मात्र हुन्छ, जब उत्पीडित समुदाय स्वयं आफ्नो मुक्तिको लडाइँमा सहभागी हुन्छ। महिलाको सन्दर्भ पनि यही हो। म त चाहन्छु- हाम्रो जस्तो समाजमा हरेक महिला विद्रोही हुनुपर्छ। थिचिएको वर्गको हलचलबिना उक्त वर्गको मुक्ति सम्भव छैन। हरेक उत्पीडित वर्ग, समुदाय र लिंगहरूले हलचल गर्नुपर्छ, चलमाउनुपर्छ। यी कविताहरू त्यही थिच्ने संरचनाबिरुद्ध चलमलाइरहेका हलचलहरू हुन्। दमन र दासत्वलाई नियति जसरी स्वीकार गर्न तयार नभएपछि प्रस्फुटित भएका ज्वारभाटाहरू हुन्। मलाई मन्जुर भएन दासता, उत्पीडन, दमन र थिचोमिचो। प्रतिरोध अनिवार्य थियो, त्यसैले मैले कवितामा विद्रोहलाई नै छनौट गरें।

विचार नै विद्रोही रूपमा आएका अन्तिम अस्त्र, जंगलीफूल, बागी स्त्रीको आत्मकथाजस्ता चोटिलो कविता बनेको नकार्न सकिँदैन। यसको पृष्ठभूमि पनि भनिदिनुहुन्छ कि?

महिलालाई विचार र मस्तिष्क नै स्वीकार नगर्ने बौद्धिक र सामाजिक स्पेसमा महिलाको उपस्थिति नै नकार्ने, मात्र एउटा शरीरको रूपमा लिएर सुन्दर यौनजन्य कामुक वस्तुको रूपमा मात्रै चित्रित गर्ने पितृसत्तात्मक मानसिकताको विरुद्ध म आफैं पनि एउटा सामाजिक स्पेस, बौद्धिक हस्तक्षेपको भूमिकामा उभिँदा महिला भएकै कारण निम्तिएका जटिलता र सोच्नै नसक्ने कठिनाइहरूसँग पटकपटक लड्दा, जुध्दा र ठोकिँदा जन्मिएको कविता हो- ‘अन्तिमअस्त्र।’ महिलालाई दिमाग नै नभएको अमान्छे घोषित गर्ने संरचना विरुद्ध महिलाको बौद्धिक र विचारशील हस्तक्षेप नै पितृसत्तात्मक सामाजिक संरचना ध्वस्त गर्ने अन्तिम अस्त्र हुन सक्छ भन्ने ऐलान गरेको कविता हो- अन्तिम अस्त्र! जसले खबरदारी गर्दै भन्छ-

होसियार पितृसत्ता !
तेरा सम्पूर्ण भाष्यहरू खारेज गरेर
म एक सम्पूर्ण मान्छे बनेको दिन
विचार र चेतना बनेको दिन
तेरो साम्राज्यमा मेरो विचारको आगो लाग्नेछ
तेरा नीति नियमका दायराभित्र
परिभाषित काइदा कानुनहरू भस्म हुनेछन्
सदियौंदेखि अस्वीकृत भएको
मेरो वैचारिक सचेतना
र विद्रोहको यात्रा नै मलाई अमान्छे घोषित गर्ने
तेरो पराजयको
अन्तिम अस्त्र हुनेछ !!

मालिकको गोडमेल र समाजका विधि विधान मान्न बाध्य नभएको, अनायासै कतै विकट कन्दरामा छरिएर उम्रिएर हुर्किएको वनफूलको स्वभावसँग तुलना गरेर निर्माण गरिएको बिम्बात्मक कविता हो- जंगली फूल। जो सुसार पाएको सर्लक्क फूलेको घरमा हुर्काइएको काँडाविहीन कोमल फूल होइन। बरु प्रतिकूल मौसम, क्रूर यातनाका बाबजुद पनि कतै पहरा छेउ काँडाम्य फूलेको एउटा उपेक्षित फूल हो! जो स्वभावैले क्रुर छ। जसले चुँडिनु नियति भनेर स्वीकारोक्ति गर्दैन, बरु चुँड्ने हातहरूलाई चिथोरेर राताम्य बनाउने हिम्मत राख्छ।

वर्जित भूगोल कुल्चिएर नाघेर हिँड्न खोजिरहेका संघर्षशील खुट्टाहरूमा सामाजिक मर्यादा र संस्कारका जन्जिरहरू बलजफ्ती लगाइदिए पनि जन्जिर चुँडालेर समाजलाई चुनौती दिँदै आरोह-अवरोह छिचोलेर कठिनभन्दा कठिन परिस्थितिसँग जुध्दै अविचलित विद्रोह परिवर्तन र क्रान्तिको बाटोमा हिँड्न खोजिरहेकी एक बागी स्त्रीको कल्पनाले निर्माण गरेको कविता हो-  बागी स्त्रीको आत्मकथा। महिलाको भागमा अनिवार्य परेको विद्रोहको भागबन्डा हो- बागी स्त्रीको आत्मकथा। आफ्नो भागमा परेको विद्रोह र संघर्षको बाटो नहिँडी कुनै पनि महिलाको मुक्ति सम्भव नै छैन। आज होस् या भोलि, महिलाले विद्रोह नरोजी सुख नै छैन। फरक यतिमात्र हो कतिलाई तत्काल दासत्वबोधले सताउन थाल्ला,  कतिलाई अलिक ढिलो गरी। मुक्तिको बाटो त त्यही हो संघर्ष विद्रोह प्रतिरोध र परिवर्तनको निर्विकल्प बाटो। त्यही संघर्ष विद्रोह प्रतिरोध र परिवर्तनीय यात्राको निर्विकल्प मेनिफेस्टो हो- बागी स्त्रीको आत्मकथा’कविता।

स्त्रीको न्यायका लागि महिलाविरुद्ध लागू गरिएका तमाम भाष्यको बर्खिलापमा उभिनु कति चुनौती छ?

यो अत्यन्तै चुनौतीपूर्ण मात्रै होइन, कठिनाइले भरिएको पनि छ। अलिअलि हिँडेपछि पाइला डगमगाउने माहोल समाजले निर्माण गरिरहन्छ। अलिअलि उचाइ लिएपछि पखेटा काट्ने प्रपञ्च समाजले गरिरहन्छ। हौसलाहरूमा पूर्णविराम लगाएर शिथिल हुने निराश हुने अवस्था निम्त्याइन्छ। यी सबैबाट लड्दै कसरी अघि बढ्ने भन्ने कुराचाहिं आफ्नो विवेक सुझबुझ, अडान र दृढताले निश्चित गर्ने कुरा हो। सत्य त यही हो- आँधीको रफ्तारमा उड्ने, जोखिम मोल्न तयार हुनेलाई स-साना हुरी बतासले अवरोध होइन, झनै उचाइ लिन मद्दत गर्छन्। फिलिंगाेलाई फुकेजस्तै अवरोधहरूले विद्रोहको यात्रामाझ नै प्राण भरिरहेका हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय