दार्चुला । हिजो रातीको अविरल बर्षा संगै आएको बिनासकारी बाढि र पहिरोका कारण दार्चुलाका दर्जनौ घरमा क्षति पुगेको छ । महाकाली नदी र लास्कु खोलामा आएको बाढिले दर्जनाैं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै बंगाबगड क्षेत्रमा ११ घर र एक बिद्यालय भवन पुर्ण रुपमा महाकालीले बगाएको छ ।
नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति भएको छ । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा सेना प्रहरी, सशस्त्र र स्थानीयले उद्धार गरिरहेका छन् ।
