दार्चुला । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको प्रतियोगिता व्यवस्थापन निर्देशन समितिको बैठकले यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाकाली नगरपालिका–वडा ४ शिवनगर खेलमैदानमा संञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता यहीँ माघ २५,२६ र २७ गते गरी तीनदिन शिवनगर खेल मैदानमा आयोजना गरीने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए ।
प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समिति दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन आग्रह गरेको छ ।
प्रतियोगितामा खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा अनिवार्य ल्याउन तथा नौवटै स्थानीय तहले खेलाडीहरूको फारम विद्यालय र पालिकाबाट प्रमाणित गरेर अनिवार्य समावेश गराउन भनेको छ ।
स्थानीय तहमा अहिले पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएर खेलाडीहरु छनोट भइसकेका छन । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र उसु संचालन हुनेछन् ।
पालिकाबाट छानिएका खेलाडीहरुबीच जिल्लास्तरीय प्रतियोगिता हुने र जिल्लाबाट पनि उत्कृष्ट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने व्यबस्था रहेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत दार्चुलामा ६ बिधाका खेलहरु सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिता विभिन्न उमेर समूह, तौल समूह गरी महिला र पुरुषमा भिन्न भिन्न प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मान सिह बुढाथोकीले जानकारी दिए ।
गत बर्षको १३ औँ जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत जिल्ला सदरमुकाम खलंगामै आयोजना गरीएको थियो । गतवर्षको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले हात पारेको थियो ।
