दार्चुला : नेपाली सेनाले समय–समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै प्रशंसा पाउने गरेको छ । सामाजिक तथा धार्मिक कार्य गरी सेनाले पुनः प्रशंसा कमाउने काम गरेको छ । दार्चुलाको गुरु गोरख गुल्मले महाकाली नगरपालिका–५ स्थित मालिकार्जुन मन्दिरमा ‘घण्ट स्ट्याण्ड’ निर्माण गरेको छ । मन्दिर परिसरमा व्यवस्थापन नगरिएका (छरिएर) रहेका घण्टहरुलाई व्यवस्थित तरिकाले राख्न संरचना निर्माण गरिएको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति राजेन्द्र बानियाँले जानकारी दिए ।
नेपाली सेनाले धार्मिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुलाई संरक्षण गर्न समय–समयमा यस्ताखाले कार्य गर्ने गरेको उहाँले बताउनुभयो । ‘धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदाहरुलाई संरक्षण गर्न नेपाली सेनाले यस किसिमका कार्य गर्दै आइरहेको छ, गुल्मपति बानियाँले भन्नुभयो ।’ मालिकार्जुन मन्दिर परिसरमा छरिएर रहेका साना तथा ठूला घण्टहरुलाई नेपाली सेनाले व्यवस्थित तरिकाले सजाएर झुण्ड्याएर राखेको छ ।
सोही मन्दिर परिसरमै असार महिनामा नेपाली सेनाको विकास निर्र्माण कार्यदल गण–२ ले विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरिदिएको छ । यस्तै गत असारमा नेपाली सेनाले महाकाली नगरपालिका–३ स्थित डुङरी समैजी मन्दिरमा ‘घण्ट स्ट्याण्ड’ निर्माण गरी व्यवस्थित गरेको थियो । मन्दिरमा घण्टहरुको व्यवस्थापन गरिदिएकोमा मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले सेनालाई धन्यवाद दिएको छ ।
