शिक्षा मानव जीवनको अभिन्न अङ्ग हो। यसले व्यक्तिलाई विवेकी, सचेत र उत्तरदायी बनाउने कार्य गर्दछ। शिक्षाले नै मानवलाई जीवन सजिलैसँग जिउन सिकाउँछ। अझ विशेष गरी शिक्षा क्षेत्र राज्यको सबै क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने केन्द्र हो। सुशासन र समृद्धिको आधार समेत शिक्षा नै हो। शिक्षा गुणस्तरीय हुनु अत्यावश्यक छ, र यसको जग आधारभूत तहदेखि नै मजबुत हुनुपर्दछ। नेपालको सन्दर्भमा उच्च शिक्षा क्षेत्रको गुणस्तर अपेक्षाकृत कमजोर देखिनुका पछाडि विद्यालय तह, विशेषतः आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षा पर्याप्तरूपमा व्यवस्थित हुन नसक्नु एक प्रमुख कारण हो। विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सक्षम, निष्ठावान्, विवेकी र दक्ष शिक्षक उत्पादन अपरिहार्य हुन्छ। शिक्षक उत्पादन गर्ने जिम्मेवारी नेपालको विश्वविद्यालय तह, विशेषतः शिक्षा संकायमा सञ्चालित स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरूमार्फत पूरा गरिन्छ।

शिक्षण पेशा भन्दा पनि एउटा प्रेरणादायी मिशन हो जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। जोन एफ. पोडोजिलको भनाइ “Teaching is not a profession; it’s a passion” ले शिक्षकको भूमिकालाई केवल रोजगारीको सीमामा राख्दैन, बरु यो जीवन दर्शन र सामाजिक उत्तरदायित्वको प्रतिविम्बका रूपमा देखाउँछ। शिक्षकमा विषयको गहिरो ज्ञान मात्र होइन, त्यो विषयलाई उत्साहपूर्वक प्रस्तुत गर्ने र विद्यार्थीलाई उत्प्रेरित गर्ने क्षमताको आवश्यकता पर्छ। यदि शिक्षकमा विषयप्रति प्रेम र विद्यार्थीको समग्र विकासप्रतिको प्रतिबद्धता छैन भने, त्यो शिक्षण केवल औपचारिकता मात्र बन्न पुग्छ, जसले शिक्षाको गुणस्तरमा प्रतिकूल असर पार्छ।

अभ्यास शिक्षण कार्यक्रम शिक्षक तयारीको मेरुदण्डस्वरूप रहेको छ। स्नातक तथा स्नातकोत्तर तहमा अन्तिम सेमेस्टरमा तीन क्रेडिट आवरको अभ्यास शिक्षण सञ्चालन गरिन्छ, जसमा विद्यार्थीहरूले सिद्धान्तमा सिकेका शिक्षण सीप तथा ज्ञान व्यवहारमा उतार्ने अवसर पाउँछन्। यस प्रक्रियालाई सफल बनाउन आन्तरिक सुपरिवेक्षकहरूले विद्यार्थीहरूलाई अभ्यास शिक्षणका सैद्धान्तिक पक्षहरूबारे मार्गदर्शन गर्नुका साथै सूक्ष्म शिक्षण तथा वास्तविक कक्षाकोठामा शिक्षण अभ्यास गराउने कार्यमा सक्रिय रहनुपर्दछ।

शिक्षण अभ्यास भविष्यका शिक्षकहरूलाई दक्ष र जिम्मेवार बनाउन अत्यन्तै आवश्यक चरण हो। यसले विद्यार्थी शिक्षकहरूलाई व्यवहारिक शिक्षणमा संलग्न गराई सैद्धान्तिक ज्ञानलाई जीवन्त अभ्यासमा रूपान्तरण गर्ने अवसर प्रदान गर्छ। अभ्यास शिक्षणले पाठ योजना निर्माण, कक्षा व्यवस्थापन, शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग, र मूल्याङ्कनको विविध पक्षमा अभ्यास गराउँछ, जसले उनीहरूलाई वास्तविक कक्षाकोठामा आत्मविश्वासका साथ प्रस्तुत हुन तयार बनाउँछ। यदि यो चरण प्रभावकारी रूपमा सञ्चालन गरिएन भने, भविष्यका शिक्षकहरू न त व्यावसायिक रूपमा दक्ष बन्छन्, न त समाजमा सकारात्मक रूपान्तरण ल्याउने सक्षम प्रतिनिधि बन्न सक्छन्। यसैले अभ्यास शिक्षणलाई औपचारिकता होइन, भावी शिक्षाको मेरुदण्डका रूपमा समालोचनात्मक ढंगले विश्लेषण गरी पुनर्संरचना गर्न आवश्यक छ।

तीन क्रेडिट आवरको अभ्यास शिक्षण कार्यक्रम शिक्षक शिक्षार्थीहरूका लागि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपमा रूपान्तरण गर्ने महत्त्वपूर्ण माध्यम हो। यस कार्यक्रमअन्तर्गतको दुई हप्ते सूक्ष्म अभ्यास (Micro Teaching) चरणमा शिक्षकले क्याम्पस भित्रै पाठ योजना निर्माण, १०–१५ मिनेटका शिक्षण सत्रहरू सञ्चालन, शैक्षिक सामग्री निर्माण, प्रश्नपत्र निर्माण, सहपाठी अवलोकन र सुझाव आदिजस्ता कार्यहरूमा संलग्न हुने मौका पाउँछन्। यस चरणले शिक्षार्थीलाई शिक्षण सीप सिकाउने मात्र होइन, शिक्षणमा सुधार ल्याउने फीडब्याक प्रणालीमार्फत स्वयं मूल्याङ्कन गर्ने अवसर पनि प्रदान गर्छ।

छ हप्ते विद्यालय शिक्षण चरणलाई नेपाली शिक्षक शिक्षा प्रणालीको अत्यन्त महत्वपूर्ण अभ्यासात्मक अवयवका रूपमा लिन सकिन्छ। यो चरण शिक्षार्थीका लागि केवल पाठ सिकाउने अभ्यास नभई व्यावसायिक जिम्मेवारी, शैक्षिक नैतिकता, तथा शिक्षण रणनीति प्रयोग गर्ने प्रयोगशाला हो। २५ वटा पाठ योजनाको तयारी र प्रत्यक्ष कक्षा शिक्षणले शिक्षार्थीमा शिक्षण सामग्रीको निर्माण, मूल्यांकन, समय व्यवस्थापन, विद्यार्थी सहभागिता, र प्रभावकारी प्रस्तुति जस्ता सीप विकास गर्न सहयोग पुर्‍याउँछ। साथै, तीनवटा अनिवार्य कक्षा निरीक्षणले आत्ममूल्यांकन र सहकर्मी मूल्यांकनको अवसर दिन्छ, जसले उनीहरूलाई आत्मपरिक्षण र निरन्तर सुधारतर्फ प्रेरित गर्छ। यसले शिक्षार्थीलाई विद्यालयको वास्तविक परिवेशमा सिक्न र सिकाउन तयार बनाउँछ।

दोस्रो पक्षमा, सहपाठीको कक्षा अवलोकन, अतिरिक्त क्रियाकलाप, लगबुक निर्माण, प्रश्नपत्र निर्माण, र मामिला अध्ययनले शिक्षार्थीलाई शिक्षणको बहुआयामिक पक्षप्रति सजग बनाउँछ। यी अभ्यासहरूले शिक्षण पेशालाई केवल पाठ सिकाउने कार्यभन्दा धेरै फराकिलो, उत्तरदायी र सामुदायिक सेवा प्रदान गर्ने क्रियाकलापका रूपमा प्रस्तुत गर्छ। यस्तो बहुपक्षीय अनुभवले शिक्षार्थीमा योजना बनाउने, समस्याको समाधान गर्ने, अनुसन्धानात्मक सोच र सहकार्यको भावना विकास गर्छ। तसर्थ, यो चरण शिक्षार्थीलाई केवल योग्य शिक्षक होइन, सोच्ने, सिक्ने र परिवर्तन ल्याउन सक्ने परिवर्तनकारी शिक्षकको रूपमा विकास गर्ने प्रक्रिया हो।

शिक्षक निर्माणको प्रक्रियामा अभ्यास शिक्षण अत्यन्तै संवेदनशील र निर्णायक चरण हो। यसले विद्यार्थी शिक्षकलाई कक्षाकोठा शिक्षण, व्यवस्थापन, मूल्याङ्कन र विद्यार्थी व्यवहारको प्रत्यक्ष अनुभव दिने अवसर प्रदान गर्छ। पाठ योजना निर्माण, शिक्षण सामाग्रीको प्रयोग, अवलोकन र फीडब्याक जस्ता पक्षहरूमार्फत उनीहरूको आत्मविश्वास, आलोचनात्मक सोच र पेशागत जिम्मेवारी बिस्तारै प्रबल हुँदै जान्छ। अभ्यास शिक्षण नीतिगत रूपमा सही सञ्चालन भएमा शिक्षण व्यवसायमा दीर्घकालीन प्रभाव पर्ने निश्चित छ।

तर, पछिल्ला वर्षहरूमा अभ्यास शिक्षण केवल औपचारिकतामा सीमित भइरहेको गम्भीर अवस्था देखिन्छ। विश्वविद्यालय तहमा हुने राजनीतिक हस्तक्षेप, पहुँच र सम्बन्धका आधारमा गरिने पदाधिकारी नियुक्ति तथा कार्यक्रम सञ्चालनप्रतिको लापरवाहीले अभ्यास शिक्षणको मौलिक उद्देश्य क्षीण हुँदै गएको छ। विद्यार्थी शिक्षकले समयमै सहायक विद्यालय नपाउनु, निरीक्षण र मूल्याङ्कन प्रक्रियामा लचिलोपन देखिनु, र आवश्यक फीडब्याक अभाव हुनुजस्ता समस्याले कार्यक्रमको प्रभावकारिता खस्किएको छ। अभ्यास शिक्षण कार्यक्रमसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानको उपाय प्रस्तुत गर्दा पनि विश्वविद्यालयका तल्लोदेखि माथिल्लो तहसम्मका पदाधिकारीहरूले चासो नदेखाउने प्रवृत्ति व्याप्त छ। यसले अभ्यास शिक्षणमा सुधार ल्याउन अवरोध खडा गरिरहेको छ। यस्तो अवस्थामा शिक्षक निर्माण कमजोर भई विद्यालय तहको सम्पूर्ण शिक्षण गुणस्तरमै नकारात्मक असर पर्ने स्पष्ट संकेत देखिन्छ।

शिक्षा संकाय तथा विश्वविद्यालयहरूले अभ्यास शिक्षणसम्बन्धी निर्देशिका तयार गरे तापनि त्यसको व्यवहारिक कार्यान्वयनमा गम्भीर कमजोरी देखिन्छ। आन्तरिक सुपरिवेक्षकहरूले समयमै अवलोकन नगर्नु, विभागीय प्रमुखहरूले योजना र समन्वयमा उदासीनता देखाउनु, र क्याम्पस प्रशासनले आवश्यक स्रोत र वातावरण सुनिश्चित नगर्नुले अभ्यास शिक्षण औपचारिकताको जालमा सीमित हुन पुगेको छ। नतिजा स्वरूप विद्यार्थी शिक्षकहरूले आवश्यक फीडब्याक, मार्गदर्शन र व्यावसायिक आत्मविश्वास प्राप्त गर्न सकिरहेका छैनन्, जसले उनीहरूको दीर्घकालीन पेशागत विकासमा नकारात्मक असर पारिरहेको छ।

यदि अभ्यास शिक्षण कार्यक्रमलाई गुणस्तरीय, उद्देश्यपरक र प्रभावकारी बनाउनु छ भने नीति निर्माणदेखि कार्यान्वयन तहसम्म स्पष्ट कार्यविभाजन, उत्तरदायित्व, पारदर्शिता र समन्वय अपरिहार्य छ। सुपरिवेक्षण संरचनालाई सक्रिय र परिणाममुखी बनाउनु, क्याम्पसहरूमा स्रोतको पहुँच विस्तार गर्नु, र विद्यालय–क्याम्पस सहकार्यलाई मजबुत पार्नु अभ्यास शिक्षण सुधारका अनिवार्य कदम हुन्। जब अभ्यास शिक्षण व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ, तब मात्र विद्यार्थी शिक्षकहरू उत्तरदायी, सक्षम र शिक्षकीय मूल्यमा समर्पित शिक्षकको रूपमा रूपान्तरण हुन सक्छन्, जुन अन्ततः सम्पूर्ण विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुर्‍याउँछ।

असल शिक्षकले सिकाइ, विद्यार्थी, र यी दुवैलाई जोड्ने प्रक्रियाप्रति प्रेम गर्छन् भन्ने स्कट हेडनको भनाइले शिक्षणको सार र उद्देश्य दुवै स्पष्ट पार्दछ। अभ्यास शिक्षण कार्यक्रमले विद्यार्थी शिक्षकलाई शिक्षणको यिनै तीन पाटोप्रति प्रेम गर्न उत्प्रेरित गर्छ, तर जब यो कार्यक्रम औपचारिकतामा सीमित हुन्छ, तब त्यसको सार हराउँछ। शिक्षकको व्यावसायिकता केवल विषयगत ज्ञानमा होइन, समर्पण, सहानुभूति, र प्रतिबद्धताको अभ्यासमा निहित हुन्छ। त्यसैले अभ्यास शिक्षणलाई केवल क्रियाकलाप वा पाठ्यक्रमको हिस्सा नभई, शिक्षण सीप र चेतनाको विकास गर्ने अनिवार्य प्रक्रिया बनाइनुपर्छ, जसले भावी शिक्षकको पेशागत पहिचानलाई बलियो बनाउँछ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रमा समावेशी, सुसंस्कृत र सशक्त शिक्षा प्रणालीले मात्र सामाजिक रूपान्तरण सम्भव बनाउँछ। गुणस्तरीय शिक्षाको मेरुदण्ड शिक्षक निर्माण भएकाले अभ्यास शिक्षणलाई पुनरावलोकन, पुनःसंरचना र प्रभावकारी कार्यान्वयनको मार्गमा लैजानुपर्छ। कार्यप्रणाली, सुपरिवेक्षण, मूल्यांकन र फीडब्याकको संयोजनलाई प्रभावकारी बनाउन नसकेसम्म अभ्यास शिक्षणले अपेक्षित नतिजा दिन सक्दैन। अब समय आएको छ कि विश्वविद्यालय र शिक्षा संकायले यो कार्यक्रमलाई शिक्षण व्यावसायिकताको मुख्य आधारका रूपमा विकास गरी भावी शिक्षकलाई सक्षम, संवेदनशील र उत्तरदायी नागरिकका रूपमा रूपान्तरण गर्ने दिशामा ठोस कदम चालून्।

शिक्षक निर्माणको अन्तिम उद्देश्य ज्ञानको स्थानान्तरण मात्र नभई शिक्षार्थीलाई सामाजिक उत्तरदायित्व बोध गराउने चेतनशील नागरिकमा रूपान्तरण गर्नु हो। अभ्यास शिक्षणले विद्यार्थी शिक्षकलाई विद्यालयको वास्तविक परिवेशमा कार्य गर्न सिकाउँछ, जहाँ उनीहरूले शिक्षा नीतिको प्रयोग, व्यवस्थापन, शिक्षणविधिको प्रयोग, र विद्यार्थीसँगको अन्तर्क्रिया प्रत्यक्ष रूपमा अनुभव गर्छन्। तर वर्तमान अभ्यास शिक्षण कार्यक्रम अझै औपचारिकता, समयावधि पूरा गर्ने बाध्यता, र मूल्याङ्कन केन्द्रित प्रक्रियामा सीमित देखिन्छ। यस्तो अवस्थामा शिक्षक निर्माणको दीर्घकालीन उद्देश्यप्रति गम्भीर प्रश्न उठ्न सक्छ।

यसकारण, अभ्यास शिक्षणलाई रूपान्तरणकारी प्रक्रियाका रूपमा पुनः परिभाषित गर्न आवश्यक छ, जसले विद्यार्थी शिक्षकलाई शैक्षिक नेतृत्व, नैतिकता, सहिष्णुता र सामाजिक संवेदनशीलता विकास गर्न उत्प्रेरित गर्छ। यस प्रक्रियामा संलग्न विश्वविद्यालय, शिक्षा संकाय, विद्यालय, सहायक शिक्षक, र पर्यवेक्षक सबैको सक्रिय र उत्तरदायी सहभागिता अपरिहार्य हुन्छ। जब अभ्यास शिक्षणलाई एक समग्र, बहुआयामिक र प्रतिबद्ध प्रणालीका रूपमा लिइन्छ, त्यतिबेला मात्र गुणस्तरीय शिक्षक निर्माण सम्भव हुन्छ, जसले समृद्ध राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्छ। अभ्यास शिक्षणलाई अब केवल अभ्यास होइन, परिवर्तनको सशक्त साधनको रूपमा अंगिकार गर्नु अत्यावश्यक छ।

लेखक: डम्मर सिंह साउद

उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय