नेपालको पछिल्लो राजनीतिक यात्रा स्थायित्वभन्दा अस्थिरताका कथाले भरिएको देखिन्छ। जनताले ठूला राजनीतिक परिवर्तनहरूका माध्यमबाट समृद्धि, सुशासन र समावेशीताको अपेक्षा राखेका थिए। विशेषगरी, केहि बर्ष पहेले दुई(तिहाइ बहुमतसहित बनेको कम्युनिस्ट सरकारप्रति जनताको ठूलो भरोसा थियो। विकासका पूर्वाधारहरू बन्छन्, भ्रष्टाचारको अन्त्य हुन्छ, र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन आउँछ भन्ने जनआकांक्षा थियो। तर, ती अपेक्षाहरूलाई नेताहरूको गुटगत राजनीति, पदको लुछाचुँडी, र व्यक्तिगत स्वार्थले खण्डित गरिदियो।
वास्तवमा, नेपालमा राजनीति जनताको हितभन्दा पनि सत्ताको लोभ र प्रभाव विस्तारको माध्यम बनेको देखिन्छ। जब जनताका आवश्यकता र आवाज राजनीतिमा प्रतिनिधित्व हुँदैन, तब राजनीति जनताबाट टाढा जान थाल्छ। राजनीतिक दलहरूले नै जनताको विश्वास गुमाउने खालका व्यवहार दोहोर्यातउँदै आएका छन्। यसले न केवल लोकतान्त्रिक मूल्यहरू कमजोर बनाउँछ, तर दीर्घकालीन राष्ट्रिय लक्ष्यहरूमा पनि बाधा उत्पन्न गर्दछ। अतः अबको आवश्यकता नया सोच सहितको जिम्मेवार नया नेतृत्व, जवाफदेही शासन, र जनभावनाको सम्मान गर्न सक्ने राजनैतिक चेतनाको पुनर्निर्माण हो।
नेपालका कम्युनिस्ट पार्टीहरू खासगरी एमाले र माओवादी लगायतका दलहरु समयक्रमसँगै निरन्तर फुट–जुट, सत्ताका समीकरणहरूमा सीमित रहँदै आए, जसले तिनीहरूको मूल सिद्धान्त र जनपक्षीय धारणा कमजोर पार्योक। जनताको हितभन्दा सत्तामा टिकिरहने, पद र लाभको संरक्षण गर्ने रणनीतिमा केन्द्रित भइरहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग, अवसरको एकपक्षीय वितरण, र नातावाद–कृपावादले जरा गाड्दै गयो। फलस्वरूप, भ्रष्टाचार, अनियमितता र कुशासन व्यापक बन्दै गएका छन्, जसले जनआकांक्षा र विश्वासलाई गम्भीर चोट पुर्यारएको छ। पार्टीका आदर्श, नारा र जनताप्रतिको प्रतिबद्धता व्यवहारमा देखिन नसक्दा ती दलप्रति जनताको वितृष्णा स्वाभाविक रूपमा बढ्न पुगेको छ।
नेपाली कांग्रेसको पनि राजनीतिक यात्रा समयक्रमसँगै निराशाजनक बन्दै गएको देखिन्छ। पटक–पटक सरकारको नेतृत्वमा पुगेको यो पार्टी सुशासन स्थापनामा असफल रहनु, भ्रष्टाचार नियन्त्रणमा चुक्नु, जनमुखी नीति निर्माण गर्न नसक्नु, र प्रभावकारी प्रतिपक्षको भूमिकामा कमजोर देखिनु उसका लागि गम्भीर प्रश्न हुन्। खासगरी, कम्युनिस्ट सरकारहरूको असफलताबीच जनताले कांग्रेसबाट वैकल्पिक सुधारको अपेक्षा गरेका थिए, तर पार्टी सत्ताको भागबण्डामा सीमित हुँदै गयो। यसले कांग्रेसलाई जनतामा आशाको स्रोत होइन, विफलताको पर्याय बनाएको छ। यो अवस्था कांग्रेसका लागि आत्मसमिक्षा र पुनःसंरचनाको खाँचो भएको स्पष्ट सङ्केत हो।
नेपालमा राजनीतिक दलहरूको प्रभाव सरकारको सञ्चालनसम्म सीमित नरही प्रशासनिक निकाय, शैक्षिक संस्था, विश्वविद्यालय तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाहरूमा समेत गहिरिएको देखिन्छ, जसले संस्थागत स्वायत्तता र सुशासनमा प्रत्यक्ष असर पारिरहेको छ। योग्य र सक्षम व्यक्तिको स्थानमा राजनीतिक पहुँचका आधारमा हुने नियुक्तिले कार्यक्षमता र निष्पक्षताको हरण गराएको छ। विशेषतः विश्वविद्यालयजस्ता ज्ञान उत्पादन गर्ने संस्थाहरूमा राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तर र शोध परम्परामा अवरोध सिर्जना गरिरहेको छ। यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा संस्थागत विकास, जनविश्वास, र राष्ट्रको समग्र प्रगतिको मार्गमा चुनौती उत्पन्न गराइरहेको छ, जसप्रति गम्भीर समीक्षा र सुधार आवश्यक देखिन्छ।
नेपालको शिक्षाक्षेत्रमा दलीयकरणले गहिरो प्रभाव पारिरहेको छ, जुन शैक्षिक गुणस्तरमा प्रत्यक्षरूपमा देखिएको एक चुनौतीपूर्ण पक्ष हो। राजनीतिक दलहरूका भातृ संगठनहरूद्वारा शिक्षक तथा प्राध्यापकहरू प्रभावित भएका कारण उनीहरूको निर्णय लिने स्वतन्त्रता, शैक्षिक नीतिहरूप्रति निष्पक्ष दृष्टिकोण, र पेशागत प्रतिबद्धता खस्कँदै गएको देखिन्छ। जब शिक्षण पेशा विचारधारात्मक पकडबाट मुक्त हुन सक्दैन, तबसम्म शिक्षाको मौलिक उद्देश्य—ज्ञान, सीप र नैतिकता विकास—धुमिल रहन्छ। यसले विद्यार्थी, शिक्षक तथा सम्पूर्ण शैक्षिक प्रणालीलाई नकारात्मक प्रभाव पार्ने स्पष्ट सङ्केत गर्दछ।
समीक्षात्मक रूपमा हेर्दा, शिक्षाको पुनर्जागरणका लागि शिक्षकहरूको आत्मनिरीक्षण र पेशागत चेतना अत्यावश्यक देखिन्छ। शिक्षण पेशालाई स्वतन्त्र, निष्पक्ष र उत्तरदायी बनाउने दिशा तर्फ शिक्षक स्वयं अघि बढ्नुपर्ने हुन्छ। उनीहरूले दलीय स्वार्थभन्दा माथि उठी राष्ट्रहित र विद्यार्थीको भविष्यलाई केन्द्रीत गरी कार्य गरेमा मात्र शैक्षिक क्षेत्रमा गुणात्मक रूपान्तरण सम्भव हुनेछ। साथै, राज्यले पनि शिक्षालाई राजनीतिक हस्तक्षेपबाट जोगाउने नीति अवलम्बन गर्नुपर्छ, जसले शिक्षण पेशाको सम्मान, आर्कषण र स्थायित्व बढाउनेछ। शिक्षकको आत्मस्वायत्तता, पेशागत उत्तरदायित्व र नैतिक प्रतिबद्धताले नै नेपालको शिक्षाक्षेत्रको भविष्य निर्धारण गर्नेछ।
अब नेपालको राजनीतिमा आमूल परिवर्तनको आवश्यकता महसुस गर्न थालिएको छ। जनताले परम्परागत दलहरू—जस्तै नेपाली कांग्रेस र विभिन्न कम्युनिस्ट धारहरू—प्रति विश्वास गुमाउन थालेका छन्, किनभने तिनले जनअपेक्षाअनुसार सेवा र सुशासन दिन सकेनन्। पछिल्ला चुनावी परिणाम र सामाजिक चेतनाको विकासले पनि यो संकेत गर्छ कि जनता नयाँ विकल्प खोजिरहेका छन्। पुराना दलहरू आन्तरिक गुटबन्दी, शक्ति संघर्ष, र स्वार्थी राजनीतिमा अल्झिरहेका छन्, जसले गर्दा जनतामा निराशा फैलिएको छ।
यस सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत केही नवगठित राजनीतिक शक्तिहरूको उदय उत्साहजनक पक्ष हुन सक्छ। यस्ता दलहरूले जनताको चाहना अनुसार पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न सके भने नेपालको राजनीतिक परिदृश्यमा सकारात्मक परिवर्तन सम्भव छ। तर, उनीहरू पनि समयसँगै सत्ताको मोह, भ्रष्टाचार, र व्यक्तिगत स्वार्थमा फस्ने हो भने स्थिति फेरि पुरानै जस्तो हुनसक्छ। त्यसैले, यी नयाँ शक्तिहरूले जनताको विश्वास जित्न र टिक्न सचेत रहनुपर्छ—नत्र परिवर्तनको सपना फेरि अधुरो हुनेछ।
पछिल्लो समय नेपाली राजनीतिमा एक नयाँ धारको विकास भएको देखिन्छ। परम्परागत राजनीतिक दलहरूबाट जनता निराश भएपछि वैकल्पिक नेतृत्वको खोजी तीव्र भएको छ। त्यसै सन्दर्भमा, स्वतन्त्र उम्मेदवारहरूको उदय एक सकारात्मक परिवर्तनको संकेतस्वरूप लिइएको छ। काठमाडौंका मेयर बालेन शाह, धरानका हर्क साम्पाङ, र धनगढीका गोपी हमाल जस्ता स्वतन्त्र नेताहरू जनताको पक्षमा काम गर्दै लोकप्रियता कमाइरहेका छन्। उनीहरूको कामले देखाएको पारदर्शिता, जवाफदेहिता र सेवामुखी नेतृत्वशैलीले जनतामा नयाँ आशा र भरोसा पैदा गरिदिएको छ।
यी स्वतन्त्र नेताहरूको सफलता केवल व्यक्तिगत जीत मात्र होइन, यो नेपाली राजनीतिमा भइरहेको चेतनाको पुनर्जागरणको पनि सूचक हो। जनताले अब दलगत स्वार्थभन्दा माथि उठेर, काम गर्ने क्षमता, इमानदारिता र जनउत्तरदायी व्यवहारलाई प्राथमिकता दिन थालेका छन्। यस्ता स्वतन्त्र नेतृत्वहरूको उदयले परम्परागत दलहरूलाई पनि आत्मसमीक्षा गर्न बाध्य पारेको छ। यदि यिनीहरूले पनि जनताको भरोसा कायम राख्दै समान रूपमा सेवा गर्न सके, भने नेपाली राजनीतिक प्रणाली थप सुदृढ, उत्तरदायी र जनमुखी हुने दिशामा अग्रसर हुन सक्छ।
प्रचण्ड, देउबा र ओली पथजस्ता राजनीतिक मार्गहरूले लामो समयदेखि नेपाली जनतालाई झूटा आश्वासन, द्वन्द्व, र निराशाको खाडलमा डुबाउँदै आएका छन्। यी मार्गहरू व्यक्तिगत र दलगत स्वार्थमा केन्द्रित रहेर जनताप्रति उत्तरदायी हुन नसक्ने असफल प्रयोग मात्र सावित भएका छन्। अहिलेको परिस्थितिमा देशलाई सही दिशातर्फ डोर्याउनका लागि राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दूरदर्शी विचार र एकीकरणको भावना स्मरणीय छन्। उनीले देखाएको ‘पृथ्वीपथ’ न केवल राष्ट्रिय एकताको सूत्रधार हो, तर आजको राजनीतिक अन्योल, अव्यवस्था र विभाजनको विकल्पसमेत हो। यस्तो मार्गले मात्रै सुशासन, राष्ट्रिय स्वाभिमान, र स्थायित्वको सुनिश्चितता गर्न सक्छ।
नेपालको दीर्घकालीन समृद्धि र शान्तिको लागि अब समय आएको छ—सबै राजनीतिक धारहरूबीच गम्भीर आत्ममूल्यांकन, संवाद र सहकार्यको माध्यमबाट साझा राष्ट्रिय एजेण्डा तय गर्ने। संविधानको मर्मअनुसार धर्म, संस्कृति र पहिचानको संरक्षण गर्दै हिन्दू राष्ट्रको पुनर्स्थापना, विकेन्द्रिकरणको नाममा फैलिएको विखण्डनकारी संघीयता खारेज गरी स्थानीय तहमा आधारित सुदृढ शासन संरचना विकास, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, र गैरदलीय राष्ट्रपतिलाई संस्थागत गर्नु समयसापेक्ष आवश्यकता बनेको छ। राजनीतिक हस्तक्षेपमुक्त, पारदर्शी र निष्पक्ष प्रणालीको निर्माण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नु अत्यन्त जरुरी छ। यदि यस्ता सुधारात्मक उपायहरू अविलम्ब लागू गरिएनन् भने, राष्ट्रको अस्तित्व नै जोखिममा पर्नेछ। त्यसैले अब राष्ट्रप्रेम जागाउन, विवेकपूर्ण निर्णय लिन, र साझा राष्ट्रिय सहमतिमा आधारित समृद्ध नेपाल निर्माणमा जुट्न सबै नेपालीहरू एकताबद्ध हुनुपर्ने बेला आएको छ।
समग्र विश्लेषण गर्दा, नेपाली जनताले अब पुराना, असक्षम र भ्रष्ट राजनीतिक दलहरूले देशलाई समृद्धिको दिशामा लैजान नसक्ने यथार्थ बिस्तारै बुझ्न थालेका छन्। लामो समयदेखि सत्ता कब्जा गरिरहेका यस्ता दलहरूले जनअपेक्षा अनुसारको सुशासन, स्थायित्व र विकास दिन नसकेको तथ्य जनताले महसुस गर्न थालेका छन्। त्यसैले अब विवेकशील निर्णय गर्दै जनताले असल नेतृत्वको छनोट गर्नुका साथै भ्रष्टाचारविरुद्ध स्पष्ट अडान लिनुपर्ने समय आएको छ। राजनीतिक चेतना अभिवृद्धि गर्दै असक्षम दलहरूको वर्चस्व अन्त्य गर्न अब धेरै ढिलो गर्नु हुँदैन।
यदि जनता सचेत भई विवेकपूर्ण राजनीतिक निर्णय गर्न सके, र पुरानै सोच र प्रवृत्तिका दलहरूभन्दा फरक सोच बोकेका नयाँ नेतृत्वलाई अघि ल्याउन सके भने मात्र सुशासन, स्थिरता र समृद्धिको मार्ग सुनिश्चित हुन सक्छ। राजनीतिलाई व्यक्तिगत स्वार्थको साधन बनाउनेहरूलाई हटाएर राष्ट्रको दीर्घकालीन हितमा सोच्न सक्ने नेतृत्वलाई स्थापित गर्नु आजको आवश्यकता हो। यो कार्य केवल चुनावमा मतदान गरेर मात्र होइन, राजनीतिक बहस, जनचेतना अभियान, र सक्रिय नागरिक भूमिकाबाट पनि सम्भव छ। जनताको संकल्प र सचेत क्रियाशीलताले मात्र नयाँ युगको राजनीतिक संस्कार स्थापित गर्न सक्छ।
यस्तो परिवर्तनशील चरणमा इमान्दार, निष्ठावान् र राष्ट्रप्रति समर्पित व्यक्तिहरूको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ। बालेन, हर्क, गोपी, कुलमानहरू जस्ता स्वतन्त्र रूपमा निर्वाचित भई जनहितमा काम गरेका नागरिकहरूलाई एउटै साझा राष्ट्रिय अभियानमा समेट्न आवश्यक छ। यस्ता व्यक्तिहरूलाई सत्ता र सरकारमा भएको ठुलादलहरुले असहयोग मात्र गरिरहेकछैनन, उनीहरूलाई अवसरबाट बञ्चित गरिनुले पनि देशको ठूलो क्षति भइरहेको छ। अतः उनीहरूलाई संगठित गरी विभिन्न निकाय र तहमा नेतृत्वको जिम्मेवारी दिनुपर्ने अपरिहार्यता छ। भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै देशलाई सही दिशातर्फ डो(याउनका लागि अब इमान्दार, निष्ठावान् र सक्षम व्यक्तिहरूको एकता र सहकार्य अपरिहार्य छ।
लेखकः डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय